-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको आठौं बैठकले अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठको अगुवाइमा कानुनविदसहित परराष्ट्र मन्त्रालयसँग समन्वयकारी बैठक आयोजना गर्ने निर्णय गरेको छ । नेपालमा भौतिक रूपमा उपस्थित हुन नसक्ने स्टेरिङ कमिटी सदस्यको अनलाइन माध्यमबाट सहभागिता सुनिश्चित गर्ने र उक्त बैठकका लागि परराष्ट्र मन्त्रालयसँग औपचारिक पत्राचार गर्ने निर्णय गरिएको छ ।
महासचिव गौरीराज जोशी द्वारा शनिबार सञ्चालित बैठकमा स्टेरिङ कमिटीले हालसम्म गरेका निर्णयको प्रगति विवरण तथा कार्यान्वयनको समीक्षा गरिएको छ । सोही आधारमा स्टेरिङ कमिटीका निर्णय अनुसार गठन गरिएका समितिले हालसम्म सम्पन्न गरेका कार्यको विवरण संकलन गर्ने, कार्य सम्पादनका क्रममा देखिएका अप्ठ्याराको जानकारी लिने तथा कार्यान्वयनलाई थप सहज बनाउने वातावरण सिर्जना गर्ने निर्णय पारित गरिएको छ।
नयाँ वा छुटेका सदस्यता आवेदनको समयावधि जनवरी २५, २०२६ राति १२ बजे (नेपाली समय) बाट स्वतः बन्द गर्ने भएको छ।
सबै एनसीसीहरूलाई ३१ जनवरी २०२६ मा सदस्यताको अन्तिम नामावली प्रकाशित हुने जानकारी गराइने र सो मितिलाई सदस्यता लक डेट का रूपमा लागू गरिनेछ। एनसीसीले १ फेब्रुअरीदेखि १० फेब्रुअरी २०२६ सम्म डेलिगेट सिफारिस गर्नुपर्ने र १४ फेब्रुअरी २०२६ राति १२ बजे नेपाली समयभित्र डेलिगेटको विवरण सचिवालयमा पठाइसक्नुपर्नेछ ।
एउटै देशमा दुई फरक टिम भएमा डेलिगेट कसरी चयन गर्ने भन्ने विषयमा कार्यविधि तयार गरी ३१ जनवरी २०२६ भित्र निर्णय गर्ने, सोको ड्राफ्ट स्टेरिङ कमिटीमा प्रस्तुत गर्ने र अन्तिम कार्यविधि एनसीसीलाई पठाउने निर्णय भएको छ।आइसीसीमा बुझाउनुपर्ने मेम्बरशिप फि अनिवार्य रूपमा तिर्नुपर्ने र तोकिएको शुल्क नबुझाएमा सम्बन्धित देशका डेलिगेट महाअधिवेशनमा सहभागी हुन नपाइने निर्णय समेत बैठकले गरेको छ ।