दोहा, कतार : नेपाल मगर संघ शाखा कतारले गत शुक्रबार डिपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा मगर समुदायको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व माघ्या सकराटी भव्य रूपमा सम्पन्न गरेको छ।कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायक–सर्जक अमर रोका मगर र युवा पुस्तामा अत्यन्त लोकप्रिय गायिका प्रिती आले मगरले उत्कृष्ट सांगीतिक प्रस्तुतिहरु मार्फत दर्शकलाई झुमाएका थिए। उनीहरूको गीतमा उपस्थित दर्शकहरू नाच्दै, गाउँदै कार्यक्रमभर उत्साहमा सहभागी भएका थिए।

कुशल कार्यक्रम सञ्चालक पुरन राजकोटी मगरले कार्यक्रमको उद्घोषण गर्दै सांस्कृतिक कार्यक्रमलाई आकर्षक र जीवन्त बनाएका थिए। नेपाल मगर संघ शाखा कतारका अध्यक्ष समीर थापा मगरको सभाध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम संयोजक तथा संघकी वरिष्ठ उपाध्यक्ष देवीकुमारी मगरले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरू लाई हार्दिक स्वागत गरेकी थिइन्। कतारमा क्रियाशील वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक तथा साहित्यिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजका अग्रज र बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थितिले सभाहल खचाखच भरिएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन दिप प्रज्ज्वलन, नेपाली तथा मगर राष्ट्रिय गान, र ब्यानर अनावरण मार्फत गरिएको थियो। अतिथि कलाकारहरूलाई पर्याप्त समय दिन र कार्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन वक्ताहरूको संख्या न्यून राखिएको आयोजकले जनाएको छ।पाहुनाहरू लाई रोटी, अचार र तरुलबाट सत्कार गर्दै स्वादिष्ट भोजनको समेत व्यवस्थित व्यवस्था गरिएको थियो। नेपाल मगर सांस्कृतिक परिवारका कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए, भने एरिया विभाग तथा विभिन्न समितिमा आबद्ध कलाकारहरूले सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या लगायत मगर संस्कृतिलाई झल्काउने एकल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए। साथै मगर भाषा, नेपाली लोक तथा दोहोरी गीतहरूले कार्यक्रमलाई थप रौनक बनाएको थियो।

जनजातीय परम्परा अनुसार नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध मातृसंस्थाहरूको तर्फबाट तमु प्ये ल्हु संघ कतार र नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले सद्भाव प्रकट गर्दै सगुन स्वरूप कोसेली उपहार प्रदान गरेका थिए। कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, पूर्वअध्यक्ष तथा विशिष्ट अतिथिहरू सहित कतारवासी मगर समुदायका सांस्कृतिक वाङ राजा रमेश कनौजे मगरलाई खादा र फेटाद्वारा सम्मान गरिएको थियो।

प्रिती आले र अमर रोका मगरसँग झुमे दर्शक
केही वर्ष रोजगारीका क्रममा कतार बसेर फर्किएका अनवरत रुपमा संगीत पेशामा लागेका अमर रोका मगर गायक मात्र नभई सर्जक तथा कुशल संगीतकर्मी पनि हुन्। पुन: कतारमै आएर माघ्या सकराटी (मिनाम सार ल्हेस् ५०१९–२०२६) मनाउने अवसर पाएकोमा उनले खुसी व्यक्त गर्दै आयोजक प्रति आभार प्रकट गरे। स्टेजमा उक्लिँदै आफ्नै रचनाका गीतहरू प्रस्तुत गरेका उनले सालैजो, जलजला पारी, नाच माया, बजाउ बाजा पञ्चेबाजा लगायतका गीतमार्फत दर्शकलाई भरपूर नचाए।

उनको प्रस्तुति पश्चात् दर्शकको हुटिङसँगै कार्यक्रमको मुख्य आकर्षण प्रिती आले मगर स्टेजमा प्रवेश गरिन्। ऊर्जावान प्रस्तुति र फरक शैलीका लागि परिचित आलेले पट्टकोके झोराबाट आफ्नो प्रस्तुति सुरु गर्दै अन्तिमसम्म उपस्थित सबैलाई नचाइन्। पञ्चेबाजा, रोधी घरमै गाँस र बास, हे कान्छा कौराहा, सोल्टी राजाको टुमलेट, दोहोरी ब्याटल, टुप्पी ठाडो र ब्याटल -२ जस्ता गीतहरूले सभाहल उत्साहले गुञ्जायमान बनेको थियो। युवापुस्ताले विशेष रुचाएको दोहोरी ब्याटल गीतमा “वान्स मोर”को आवाज बारम्बार सुनिन्थ्यो।

महासचिव पाण्डप थापा मगर र द्वितीय उपाध्यक्ष रबिना मगरले सहजीकरण गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राकेश श्रेष्ठले पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गएको समयमा मगर संघले विदेशमा पनि मौलिक संस्कृतिको संरक्षण गर्दै सभ्य र भव्य कार्यक्रम आयोजना गरेकोमा प्रसन्नता व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष समीर थापा मगरले करिब दुई महिना देखिको निरन्तर मेहनतका कारण कार्यक्रम भव्य रूपमा सफल भएको बताए। उनले सल्लाहकार समिति, केन्द्रीय कार्यसमिति, इकाइ समिति लगायत माघ्या सकराटी कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरे।