गण्डकीपुत्र
मेरा आँखाले देखेको पोखरा पानीको शहर , गुफाहरुको शहर , मुक्तकको शहर , तालहरुको शहर । पोखरालाई अनेक नामले चिनिन्छ । पोखरा घुम्ने अवसर पर्खिरहेको थिएँ । एउटा ब्यापारिक कम्पनीको बजार ब्यवस्थापकको काम आइलाग्यो र पोखरालाई लक्ष बनाएर घरबाट निस्किए बिराटनगरबाट नारायणघाटको टिकट लिएर बसमा चढें । ठाउँठाउँमा यात्रु ओराल्ने र चढाउँने गर्दै बसले ५ बजेतिर नारायणघाट झारिदियो । पोखरामा आरजुलाई फोन गरे । त्यहाँ पोखरा आउने बस पाइन्छ । त्यसैमा आउँ भनेर फोन राखिदियो । त्यहाँका मानिसलाई सोधेर पोखरा जाने गाडीमा चढे । गाडीको पारा उहि रोक्दै मानिस चढाउदै उतार्दै । बल्ल बल्ल १० बजे राती पोखराको पृथ्वी चौकमा झारिदियो । आरजुलाई फेरि फोन गरें । ट्याक्सी लिएर एफ एम आइज भन्यो । ऊ माछापुच्छ्रे एफ एम को सहायक स्टेसन मेनेजर थियो । एफ एमका कर्मचारीले खाना खाने होटलमा खाना खायौं । उसको ड्युटी ११ बजे सकियो । कोठामा गएर आराम गरियो ।
बिहान आफूले भेट्नु पर्ने ब्यक्तीलाई बिरौटामा गएर भेटियो । ब्यापारको सामान्य जानकारी लिएर म अमित रिजाललाई भेट्न बाराही एफ एम राष्ट्र बैङ्क चौक तिर लागे । हामी करिब तीन बर्षपछि भेटिएका थियौं । नजिकै भएको पसलमा गएर कफि पियौं, बिगत संझियौं । वर्तमानको चर्चा गर्यौं , लेखनका कुरा भए साथै कविताका कुरा भए । प्रसङ्गबस उसले अक्षर यात्राको कुरा गर्यो । पोखरामा महिनाको एउटा शनिबार विभिन्न ठाउँमा गएर कविता लेख्ने र त्यहीँ वचन गर्ने चलन चलाएका रहेछन पोखराका स्रष्टाहरुले । अमितले नै स्थानिय एक कविलाई फोन गर्यो र बिराटनगर तिरका एक मित्र आएका छन । अक्षर यात्रामा सहभागी गराउनु भनेर मेरो फोन नम्बर दियो ।
ति कवि थियो बाराही एफ एममा साहित्यिक कार्यक्रम संचालन गर्ने रुपिन्द्र प्रभावी कटु । दुई दिनपछिको शनिबार रुपिन्द्रले फोन गरे । आज लब्ली डाँडामा अक्षर यात्रा छ । आउनु होस । मलाई त्यो ठाउँ थाह नभएको जनाउ दिए। ल ११ बजे तयार भएर बस्नु म लिन आउछु भने । नभन्दै उ ११ बजे म बसेको महेन्द्रपुल नजिकको डेरामा आए । हामी लाग्यौ लब्ली डाँडा तिर । पोखरा शहरको उत्तर पश्चिम रहेछ यो ठाउँ । शहरको कोलाहल भन्दा पर यहाँ युवा युवतीहरुको भेटघाट गर्ने , प्रेम साटासाट गर्ने गर्दा रहेछन् । रुख र साना पोथ्राहरुले ढाकिएको रमाइलो ठाउँ । मेरो पहिलो भेट चर्चित गजलकार प्रकट पङ्गेनी शिवसँग यहि भयो । अर्का युवा गजलकार दिपक समीप , प्रकाश ज्ञवाली , कृत्रिम स्याङ्जाली , फडिन्द्र अकिन्चन लगायतसँग भेट भयो । एकापसमा परिचय आदन प्रदान भयो । रुपिन्द्रले भने । हामी अब छरिन्छौ र एकघन्टा पछि यहि चौरमा आफुले लेखेका रचना सहित जम्मा हुन्छौ र आफुले लेखेका कविता , गजल जे छ सुनाउँछौं । तत्काल त्यहीँ लेखेर त्यही आफूले लेखेको रचना सुनाउनुपर्ने यस खालको अभ्यास मेरो लागि नितान्त नौलो थियो ।
अरु सबै लाखापाखा लागे , म पनि चौरको अर्को कुनामा तेर्सिएको चट्टानमा गएर लेख्न थालें । निकै सकस पछि एउटा कविता तयार भयो । एक घण्टापछि हामी सबै फेरि भेला भयौं । कसैले गजल कसैले कविता लेखेका रहेछन । मैले मेरो कविता सुनाएँ ।
शीर्षक थियो: प्रेमको शिविरबाट
भन्दिनु फर्कन गाह्रो छ
प्रेमको शिविरबाट
हामी परम्पराले निषेध गरेका
सम्पुर्ण तगाराहरु भत्काएर
भित्र पसिसकेका छौं ।
कहाँ लेखिएको छ
हामीले गाउनु हुन्न खुसीको गीत
एकअर्कोको हात समाउदै
गर्नु हुन्न मेलापात
हामी उभिएका छौं
सबै धर्म ग्रन्थका विरुद्ध
र प्रश्न उभ्याउन चाहन्छौ
समयको छातीमा
ब्रह्माण्डमा जातको पात पहिले पलायो
कि अङ्कुरायो प्रेमको फूल पहिले ?
यो हिमाल जो उभिएको छ
हाम्रो प्रेमको साक्षी भएर
मिलनका क्षणहरुमा
यो रात जस्ले अनुभव गरेको छ
हाम्रो बियोगको पीड
सोध्नु हामीलाई छुदैं
ओरालो झरेको बतासलाई
कि छुट्टिन कति गाह्रो छ ।
चाहे डुबोस यो घाम
फेरि नउदाउने गरि अब
या खसुन यी ताराहरु
रातलाई एक्लो बनाएर
जेसुकै होस्
हामी नफर्कने भएका छौं
तिम्रो धर्म ग्रन्थको
आदेश पालना गर्न
हाम्रो प्रेमको सुरक्षित
शिविर भत्काएर ।
यो भेटपछी प्रकट पङ्गेनीसँग मेरो लय मिल्यो । पोखरा बसुन्जेल हामी प्राय साँझमा कुनै कवि कुनामा भेट हुन्थ्यो र घन्टौं गफिएर बस्थ्यौ । मलाई मेरो कामको त्यति मोह थिएन । मलाई त पोखरा , पर्बत , बागलुङ , बेनि , स्याङ्जा , लमजुङका कवि साहित्यकाहरुसँग घुलमिल भएर तिनका रचना सिर्जना सुन्नु थियो । पोखराका अग्रज कविहरु सरुभक्त , तिर्थ श्रेष्ठ , रमेश श्रेष्ठका साहित्यिक कर्मको अध्ययन गर्नु थियो । यो काममा रुपिन्द्र प्रभावी मेरो भरपर्दो साथी थिए । कहिले सरुभक्त दाइ , कहिले तिर्थ दाइहरुको निवासमा हामी साहित्य र कविता लेखनको चर्चा गर्थ्यौं । सरुभक्त दाइले एकदिन भन्नु भो , गण्डकी भाइ आएपछी किन हो युवाहरु लेखनमा सकृय हुनथालेका छन । हुनपनी अक्षर यात्रामा राम्रै सहभागिता बढ्दै थियो । लब्ली डाँडापछी पोखराको पुर्व पर्ने काहुँ डाँडामा अक्षर यात्रा भयो । यो डाँडाबाट पोखरा मात्र होइन बिजयपुर खोला पारीको लेखनाथ गाउँ र दक्षिणी भेगको दृष्य राम्रोगरी देखिन्थ्यो । फर्कदा भने हामी पैदलनै फर्कियौ । बाटामा कवि सरस्वती श्रेष्ठ सरुको घर पर्दोरहेछ । उनले तातो चियाले स्वागत गरिन ।
ब्यापारिक प्रयोजनको सिलसिलामा मैले बागलुङ जानु पर्यो । बागलुङमा बिहान् पुस्तक पसल खोज्दै गएको पसलमा साहित्यकार काजी रोशन भेटिए । म साझा प्रकाशनको मासिक साहित्यिक पत्रीका “गरीमा” खोज्न गएको थिए । त्यो अङ्कमा मेरो चुराहरु शीर्षक कविता छापिएको थियो । मैले गरीमा खोजेको देखेर काजी रोशनले सोधिखोजी गरे । मैले मेरो कविता देखाएपछी परिचय अगाडि बढाए । पसलका साहु थिए लालचन राजभण्डारी । मेरो कविता पढेपछी उनले पसलमै चिया मगाए । हामी तीनजनाले साहित्यको समसायिक बिषयमा निकै समय चर्चा गरेर छुट्टियौं ।
बागलुङ बसेकै बेला एकदिन काजी रोसनले फोन गरे मेरो घर आउनु न यहाँ दुइजना साहित्यकार तपाईंसँग भेट्न चाहनु हुन्छ । मेरो लागि यो खुसीको कुरा थियो । म हतार गरेर उनको घर पुगे । त्यहाँ दुई अपरिचित ब्याक्ती बसेका थिए । परिचय भयो एक प्रेम छोटा थिए अर्का ब्याक्ती अलि अग्ला थिए । बेनिबाट आएका साहित्यकार ध्रुबलाल शर्मा , ध्रुबलालले बेनिमा साहित्यिक कार्यक्रम गर्न लागेको र आउनु पर्छ भनेर मलाई निम्ता दिए । मैले हुन्छ भने र यताका साहित्यकारका साथ आउने छु भनेर जवाफ दिए । मेरो लागि नयाँ ठाउँ भएपनी म नौलो बनिन् ।
क्रमशः …..