सोमवार, मंसिर २३, २०८२ | December 8, 2025

बिगतदेखि वर्तमानसम्म ।

बिगतदेखि वर्तमानसम्म ।

  • Naveen Sanchar

  • आइतवार, मंसिर २२, २०८२

  • 56
    Views
बिगतदेखि वर्तमानसम्म ।

 

गण्डकीपुत्र ।

आज योर्कमा हिउँ पर्यो । पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गबाट गाडीमा ३० मिनट दक्षिणको यो सानो शहरको ग्रामिण क्षेत्रमा म बस्छु । बिहान उठेर झ्यालको पर्दा खोले । सारा संसार सेताम्मे थियो । अब केही समय कम्तिमा तीन महिना यो जङ्गल , बाटो र चौर हिउँले ढाकिन्छ । बाहिर गाडी हेरे हिउँ भित्र त्यो आफ्नो आकृती लिएर उभिएको छ । आजै केही अफिसियल काम गर्नु थियो । नागरिकता खोजे , भेटिन । एउटा पँहेलो खाममा नागरिकता र पासपोर्ट थियो । भएका सारा पुस्तकका दराज , लुगा फाटो सारा पन्छाए कतै फेला परेन । छिमेकी साथीसँग केहिदिन अगाडि स्टेट आइ डि मा ठेगाना परिवर्तन गर्न गएको थिए। जाँदा पासपोर्ट लिएर गएको थिए त्यतै छोडिएछ कि मन बेचैन भयो । आफू गाडी नचलाउने उबर यस्तो बेला आउँछ कि आउदैन , अन्यौल भयो । उबर एप्समा गएर जानुपर्ने ठेगाना टाइप गरे । करिव २ मिनट पछाडी उबर सम्पर्क भयो तर आधा घन्टा पर्खनु पर्ने । अन्यौल भयो , कसो गरौ के गरौं ? गर्दागर्दै उबर क्यन्सिल गरें । आजको हिउँ चिप्लो छ अरे किन जानु पर्यो भनेर मेरी जीवन साथी निर्मला गनगन गर्दै थिइन । क्यान्सिल गरेर ठिकै गरेकी जस्तो लाग्यो ।

अब केही समय बाहिर निस्कने अबस्था बन्दैन । त्यसै त म बाहिर ,निस्कन त्यति मन गर्दिन । कतै कार्यक्रम छ भने गयो होइन भने घरमै बस्यो । कान्छी नातिनी छन् । उनले जे गरेपनी राम्रो लाग्छ । मेरो छेउमा आएर के के सोधेर हैरान पार्छिन तर रमाइलो लाग्छ । छल कपट स्वार्थ नभएको उनको नेपाली बोल्ने तरिका मजाको छ । प्रष्ट नेपाली बोल्छिन । कुनैकुनै अङ्ग्रेजी शब्द हुन्छ म बुझ्दिन । उनी मैले बुझोस भनेर उच्चारण प्रष्ट पार्न खोज्छिन । त्यस्तो बेला उनको अनुहार यति माया लाग्दो हुन्छ म भावुक जस्तो हुन्छु र ठुली नातिनीको सहारा लिन्छु । ठुली नातिनीको नेपाली लवज अङ्ग्रेजी भै सकेको छ । उनी आफ्नी बैनीले भनेको कुरा अर्थ्याउन अनेक उदाहरण दिन्छिन । जब कुरा बुझ्छु कान्छीको अनुहारमा चमक देखिन्छ । सम्झन्छु शंकर लामिछनेको निबन्ध । उनले वास्तवमा हामीले लेख्ने सत्य र सुन्दर बस्तु हाम्रै वरिपरि छन । तिनको सौन्दर्य र गहिराई बुझेर लेख्न पाए कस्तो काव्य जन्मिले थियो होला । हामी आफुलाई विद्वान भएको रवाफ देखाउन अरु देशका कुराको सहारा लिन्छौ कि ? या त भयङ्कर लेखेको भ्रममा रमाउछौ ।

कवि सीमा आभाषको पुस्तक महायुग आइपुगेको छ । केही साथीहरुले पुस्तकको लागि सूचना गर्नु भएको छ । केही साथीहरूलाई मैले नै पढ्न आग्रह गरेको छु । अहिले नेपालमा महायुग पुस्तकका बारेमा चर्चा परिचर्चाका कार्यक्रम भइरहेका छन । यो पुस्तक अलि फुर्सद मिलाएर पढ्ने सोच बनाउँदै छु । सीमाको पुस्तक आएपछी बिराटनगर सम्झिए । जहाँ मेरो लेखनले लेखनको जग निर्माण गर्यो । जहाँ उभिएर कहिले प्रेमका गजल र कैले बिद्रोहका कविता लेख्ने र प्रस्तुत गर्ने अभ्यास गरियो । मधु दाइको गजल , रामबाबु दाइको बौद्धिक तर्क , खेम नेपालीको साँस्कृतिक चेत , सीमा आभाषको आगो बिद्रोह , शुभ लक्ष्मीको कलात्मक खवरदारी , ज्योती जङ्गलको भावुक र गम्भीर शैली , विवश पोख्रेलको परिहास र सशक्त प्रस्तुती , रमेशचन्द्र अधिकारीको युवा चेतना , प्रयाग न्यौपानेको नाटकिय प्रस्तुती , उमेश लुइटेलको हृदयबाट निस्किएको कला यी सबैले आल्हादित बनाइ रहन्छ । कुनकुनै बेला लाग्छ जाउँ साँझमा गएर पाञ्चाली तिरको कुनै कवि कुनामा बसेर सबैका कुरा सुनौ र हराउ त्यही भिडमा ।कार्यक्रममा त म यहाँपनी सहभागी हुन्छु तर यहाँ कार्यक्रममा गयो आफ्नो रचना सुनायो फर्कियो । त्यहाँजस्तो यहाँ तेरो आजको कविता यो भएन त्यो भएन भन्ने कोहि छैन न आफैं कसैलाई यो कविता यसो गरे अझ सुन्दर हुन्थ्यो भन्ने हिम्मत गर्छु । त्यहाँ जसरी साहित्यका बिषयमा यहाँ म कसैसँग चर्को बहस गर्दिन । अमेरिकाको साहित्यिक समाजले आलोचना सहजै स्विकारेको पाइन्न । चुपचाप लेख्नु र बहस गर्दै लेख्नु सायद फरक बिषय हो ।

बिहान उठेर हराएको पासपोर्ट अस्ति गएको अफिसमा छुट्यो कि खोज्नु छ । अमेरिकामा कसैको समान या मोबाइल कतै अफिसमा रेष्टुरेण्टमा , या कुनै कफि सपमा छुट्यो भने हराउदैन । कतै कतै आक्कल झुक्कल नभेटिएला नभए भेटिन्छ । त्यो दिन मेरो पहिलेको ठेगाना परिवर्तन गरि नयाँ ठेगानाको राज्यको परिचय पत्र लिनु थियो । अफिसमा गएर लाइनमा उभिएँ । मेरो पालो आएपछी सोधपुछका लागि बसेको कर्मचारिले सोध्यो , किन आएको ? मैले ठेगाना परिवर्तन गर्नु छ भनेको एउटा फर्म दियो । फर्म भरेर पालो कुरेर बसें । मेरो पालो आएपछी आफुले भरेको फर्म बुझाएँ । ४२ डलर लाग्छ भन्यो । पैसा दिन खोजेको लिन मानेन । अनलाइन बुझा भन्यो । मेरो कार्डमा पैसा थिएन । मसँग गएका साथीले अनलाइन पैसा तिरिदिए । मैले उनलाई नगद दिए । काउन्टरको कर्मचारिले ५ मिनट पर्खी भन्यो । ५ मिनटमा नयाँ कार्ड लिएर फर्किएँ। त्यही बेला पासपोर्टको फाइल त्यही छुटेको होला भन्ने लागेको छ ।

अहिले ह्यारिसबर्गमा साथीहरु मिलेर एउटा अनलाइन खबर पत्रीका निकाल्ने तयारी गर्दैछन क्यार । पत्रीका पहिले नै दर्ता भएको तर नियमित हुन नसकेकोले अब नियमित गर्ने कुरा हुँदैछ , कुनै साथीले फोन गरेर भन्दै थिए । केही साथीहरु नयाँ काम गर्नलागे मलाई सुनाउछन । यसो त अमेरिकामा बिभिन्न वान्किका अनलाइन पत्रीकाहरु सकृय छन । यिनका पाठक कति छन सहि तथ्याङ्क त छैन तर पनि यी पत्रीका फेसबुक खोल्ने बित्तिकै फेसबुकका भित्ताहरुमा देखिन्छन । म बि सं २०५८ देखि मात्र पत्रीकामा जोडिए । एक स्तम्भ लेखकका रुपमा । बिराटनगरबाट निस्कने दैनिक पत्रीकामा प्रतेक शनिबार एउटा लेख दिनु पर्थ्यो । म बिशेष कला , साहित्यका बारेमा लेख्थें । यो क्रम दुई बर्ष चल्यो । स्तम्भ लेख्न थालेपछी अन्य लेखन पातलो भएको महशुस गरेर त्यो काम छोडी दिए । कलम चलाए वापत पैसा पाएको पनि त्यही समय हो । अमेरिका आएको ५ बर्ष पछि केही लेख समाज टाइम्स अनलाइन पत्रीकामा प्रकाशित भए । बिष्णुहरी घिमिरे यसका प्रधान संपादक र उनी पुराना परिचित मित्र भएकोले पनि लेखहरु दिन मन लाग्यो । पेन्सिलभेनियाको ह्यारिसबर्ग आएपछी यहाँको साहित्यिक सकृयता देखेपछी केही लेख्न जाँगर पनि लागेको हो ।

ह्यारिसबर्ग बस्न थालेपछी मैले सघनरुपमा नेपाली भाषी भूटानीसँग नजिकहुने अवसर पाए । साच्चै भन्ने हो भने मैले भूटान सुनेको मात्र थिएँ नेपालमा हुँदा । ह्यारिसबर्ग आएपछी नै भूटानबाट निर्वासित नेपालीहरुको सङ्गतले भूटान चिन्ने अबस्था बन्यो । भूटानी नेपालीले लेखेका केही पुस्तक अध्ययन गर्ने अवसर मिल्यो । दन्किदो भुटानदेखि पछिल्लो प्रकाशित पुस्तक पर्दा पछाडीको भुटानसम्मका पुस्तकले भूटानी नेपाली जातीको त्याग समर्पण , संघर्षको कथा इतिहास र निर्वाशित हुनुपरेको ब्यथाका बारेमा जानकारी गराउँछन । ह्यारिसबर्गमा नेपाली र नेपाली भाषी भूटानीहरुको संख्या उल्लेखनियरुपमा रहेको छ । यहाँ आएपछी पत्रकार भक्त घिमिरेको सङ्गतले भूटानलाई बुझ्न अझ सजिलो भयो । समाजको गतिशीलता त्यहाँ हुने विविध क्रियाकलापले निर्धारण गर्छ । यसरी हेर्दा ह्यारिसबर्गको नेपाली र नेपाली भाषी भूटानी समाज सकृय देखिन्छ । यहाँ साहित्यिक र साँस्कृतिक कार्यक्रमहरु , धार्मिक चाडपर्वहरु उत्साहका साथ एकताबद्ध भएर मनाइन्छन । दशैं , तिहार , तिज , ल्होछारहरु , तमु ल्होछार , सोनाम ल्होसार , उधौली , उभौलीका चण्डी नाचहरु , रोदि , बुद्ध जयन्ती , कृष्ण जन्माष्टमी , देवकोटा जयन्ती , भानु जयन्ती जस्ता उत्सब यस सन्दर्भमा उल्लेखनिय पर्बहरु हुन । एक जातीले अर्को जातीको धर्म संस्कृतीलाई महत्वका साथ सम्मान गरेको पाइन्छ । आज अब यति नै भयो लेखाइ । कहिलेकाही आफ्नो बिगत र वर्तमान एकै चोटि मनमा आउदो रहेछ । साथमा जे उपलब्ध छ त्यसैकासाथ हिड्नु जीवनको नियती हो क्यार ? सायद म त्यही गर्ने कोशिस गर्दैछु ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha