दोहा कतार : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको मुस्लिम समुदायसम्बन्धी अभिव्यक्ति पछिल्ला दिनहरूमा तीव्र विवाद र प्रतिवादको विषय बनेको छ।
मंसिर ९ गते आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम धर्म, मुस्लिम समुदाय र अरब समाजबारे व्यक्त गरेका भनाइहरू “आपत्तिजनक, विभाजनकारी तथा ऐतिहासिक रूपमा आधारहीन” रहेको भन्दै व्यापक आलोचना भइरहेको छ।
प्रधानमन्त्री कार्कीले के भनेकी थिईन्?
समारोहमा उनले मुस्लिम समुदायमाथि गरिएको आरोपसम्बन्धी भाषणका क्रममा यस्तो भनाइ दिइन्–
“मुसलमानहरूको प्रवृत्ति–व्यवहार हेर्दा महिलामाथि भएको अन्याय देखिन्छ—जिउँदै महिलालाई गाड्ने, तान्ने, कतिपय मुस्लिम देशमा महिलालाई आजादी नदिने, पढ्न नदिने अवस्था देखिन्छ।”
“पहिलेको अरेबियन कालमा सुडान, इजिप्टजस्ता देशमा महिलाहरू डाक्टर, विदुषी र आर्थिक रूपमा सक्षम थिए।”
“आर्यनहरूको संस्कृति उदार थियो, तर मुसलमानहरूले हमला गर्न थालेपछि सात वर्षका बालबालिकाको विवाहजस्ता प्रथाले समाज संकीर्ण बन्दै गयो।”
यी अभिव्यक्तिहरू सार्वजनिक भएको केही क्षणमै देश–विदेशका मुस्लिम समुदाय आक्रोशित बनेका छन्। मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीको भनाइलाई “धर्म र समुदायलाई गलत रूपमा चित्रण गर्ने तथा नेपालजस्तो बहुसांस्कृतिक समाजमा घृणा फैलाउने” प्रकृतिको बताएका छन्।
मुस्लिम समुदायको कडा प्रतिक्रिया
नेपालका प्रमुख मुस्लिम संघ–संस्थाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री कार्कीको अभिव्यक्तिलाई “सम्पूर्ण मुस्लिम जनतामाथिको सामूहिक अपमान” भनेका छन्। संवैधानिक पदमा बसेको व्यक्तिले तथ्यहीन र धार्मिक भावनामा असर पर्ने अभिव्यक्ति दिनु मुलुकको सामाजिक सद्भावमाथि गम्भीर प्रहार भएको उनीहरूको तर्क छ।
देश–विदेशका नेपाली मुस्लिमहरूले पनि विभिन्न माध्यमबाट प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन तथा तत्काल सार्वजनिक रूपमा माफी माग्न आह्वान गरिरहेका छन्। तर सरकार र प्रधानमन्त्री कार्यालय मौन बसेकोले आक्रोश थप बढेको मुस्लिम समुदायको टिप्पणी छ।
कतारमा स्थापित मुस्लिम समुदायका भात्रृ सस्था एवंम् अगुवाहरुले समुदायको अपमान, सामाजिक सद्भाव भट्काउने तथा धार्मिक सहिष्णुता खलबल हुने अभिव्यक्ति प्रति गहिरो खेद प्रकट गरेका छन् । उक्त अभिव्यक्ति फिर्ता लिई, आम नेपाली समाज र समुदायसंग आम माफि माग्नु पर्ने, माथि समुदायका अगुवा करिम बक्स मियाँले जोड दिएका छन् ।
देशभर मुस्लिम समुदायबीच चर्किन थालेको असन्तोषबीच अब प्रधानमन्त्री कार्कीले कस्तो प्रतिक्रिया दिनेछिन् भन्ने प्रश्न उठ्दैछ। उनले माफी माग्ने कि आफ्नो भनाइ स्पष्ट पार्ने—यो निर्णयले आगामी राजनीतिक वातावरणमा महत्वपूर्ण प्रभाव पार्ने समेत विश्लेषकहरूको आकलन छ।