शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

साउदी अरबको यान्बुमा अलपत्र ११ नेपाली श्रमिकको उद्वार

साउदी अरबको यान्बुमा अलपत्र ११ नेपाली श्रमिकको उद्वार

  • नवीन सञ्चार मध्यपूर्व संयोजक : देबी बहादुर सुतार कार्की

  • सोमवार, भदौ ३०, २०८२

  • 399
    Views
साउदी अरबको यान्बुमा अलपत्र ११ नेपाली श्रमिकको उद्वार

यान्बु साउदी अरव नबिन सन्चार

साउदी अरबको यान्बु शहरमा अलपत्र परेका ११ जना नेपाली श्रमिकमध्ये १० जना नेपाल फर्किएका छन् भने १ जना भने स्थानीय कम्पनीमा ट्रान्सफर भएका छन्।

राजदूतावास रियाद र महाबाणिज्यदूतावास जेद्दाको अथक पहलपछि सम्बन्धित कम्पनीले श्रमिकहरूलाई बहिर्गमन भिसा र हवाई टिकट उपलब्ध गराएको हो। उनीहरूलाई करिब पाँच महिनादेखि काम र तलब नदिएको बताइएको छ।

एक महिनाअघि नेपाली सेवा समिति–यान्बुसँग सम्पर्कमा आएपछि विभिन्न सञ्चारमाध्यममार्फत समाचार सार्वजनिक भएको र त्यसपछि प्रक्रिया अघि बढेर उद्वार सम्भव भएको समितिका कार्यबहाक अध्यक्ष धन बहादुर गुरुङले जानकारी दिनुभयो। उहाँले राजदूतावास, वाणिज्य दूतावास, पत्रकार तथा सहयोगीहरू सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

“खान नपाएर परदेशमै भोकै मरिन्छ कि भन्ने लागेको थियो। तर, ३७ दिनदेखि नेपाली सेवा समितिले खाद्यान्न, सरसफाइ सामग्री र नगद सहयोग उपलब्ध गराएर हाम्रो ज्यान बचाइदियो,” एक पिडितले बताउँदै बहिर्गमन भिसा र टिकट पाएपछि खुसी व्यक्त गरे।

उनीहरूको भनाइअनुसार, ५०–५५ डिग्री तापक्रममा बिजुलीविहीन कोठामा बस्दा केही श्रमिक बिरामी समेत परेका थिए। उपचारका लागि मेनपावर कम्पनीलाई पैसा पठाउन आग्रह गर्दा पनि आज–भोलि भन्दै टारिएको उनीहरूको गुनासो छ।

घर फर्किने बेला कम्पनीले करिब ५९ हजार साउदी रियाल (ने.रु. २२ लाख) बराबरको पाँच महिनाको तलब नदिई टिकट मात्र उपलब्ध गराएको श्रमिकहरूको दाबी छ।

यी श्रमिकहरूलाई अल फराज इन्टरनेशनल ओभरसिज प्रा. लि. मार्फत २०२३ सेप्टेम्बरमा इलाईट सपोर्टिङ कम्पनी एलएलसी, साउदी अरबमा मेसन, टि–ब्वाए र लेबरको रूपमा पठाइएको थियो। शुरुवातमा तलब दिए तापनि, पछिल्ला नौ महिनादेखि आवासीय कार्ड (अकामा) नविकरण नगरिएको, पाँच महिनादेखि तलब नदिएको र दुई महिनादेखि कोठामा बत्ती नभएको कारण उनीहरू गम्भीर समस्यामा परेका थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha