सोमवार, भदौ १६, २०८२ | September 1, 2025

निबन्ध : बुबा मौनताको दर्शन, समयको प्रतिमा

निबन्ध : बुबा मौनताको दर्शन, समयको प्रतिमा

  • Naveen Sanchar

  • शनिबार, भदौ ७, २०८२

  • 140
    Views
निबन्ध : बुबा मौनताको दर्शन, समयको प्रतिमा

त्रिविक्रम न्यौपाने
निबन्ध : बुबा मौनताको दर्शन, समयको प्रतिमा

हामी सबैको जीवनको सुरुवात एउटा आवाज, एउटा स्पर्श र एउटा भरोसाबाट हुन्छ। त्यो भरोसा प्रायः आमाको मुहार र हातबाट महसुस हुन्छ, र संसारलाई पहिलो पटक आमा नै देखाउँछिन्। तर, आमा भन्दा एक कदम पछि पनि, सधैं मौन भएर, नदेखिएको तर आधारभूत उपस्थितिले हाम्रो संसारलाई अड्याइरहेको हुन्छ।त्यो शक्ति हो बुबा। उनी धेरै बोल्दैनन्, धेरै देखाउँदैनन्, तर हरेक ईँट जस्तो बलियो, हरेक कदम जस्तो मौन र हरेक निर्णय जस्तो गहिरो हुन्छन्।

बाल्यकालमा हामी खेलौनामा रमाउँछौं, मिठाई माग्छौं, सपनामा डुब्छौं। हाम्रो संसार सानो हुन्छ, तर रंगीन हुन्छ। त्यो संसारलाई रंगीन बनाइराख्न, कसैले आफ्ना सपनाहरू बेचिराखेको हुन्छ। बिहान अँध्यारोमै उनी उठिसक्छन्, बाहिर चिसो हावा हुन्छ, तर उनको मुटुमा घाम हुन्छ। थकाइलाई लुकाएर, आफ्नो भोकलाई दबाएर, पसिनाको सानो थोपा मार्फत परिवारको भोलिको मुस्कान सिर्जना गरिरहेका हुन्छन्।

त्यो मौनता हाम्रो पहिलो पाठशाला हो। हामी सोच्थ्यौं, किन बुबा कम बोल्छन्? किन उनी हाँस्दैनन् जस्तो लाग्छ? किन कहिल्यै आफ्ना कुरा गर्दैनन्? तर पछि बुझिन्छ, उनी कम बोल्दैनन्, उनी धेरै सोच्छन्। उनी कम हाँस्दैनन्, उनी धेरै भोग्छन्। उनको मौनमा जिम्मेवारी हुन्छ, उनको मौनमा माया हुन्छ, उनको मौनमा त्याग हुन्छ। उनले सिकाएका पाठहरू किताबमा छैनन्, तर जीवनका प्रत्येक क्षणमा छन्। हामी देख्दैनौं, तर उनी भोकै बस्छन् हामीलाई पेटभर खान दिन, पुरानो चप्पल लगाउँछन् हामीलाई नयाँ जुत्ता किनिदिन। उनी थकाइ ढाक्छन् हामीलाई आश्वासन दिन।

समयसँगै शरीर बदलिन्छ। बाल्यकालमा बुबा बलिया देखिन्छन्, ठूलो आवाज र दृढ चालका मालिक। उनी हाम्रो लागि सुपरहीरो हुन्छन्, जसले हरेक समस्या सुल्झाउँछ। तर समय सबैलाई झुकाउँछ। दिन ढल्दै जान्छ, ढाड झुक्दै जान्छ, आँखामा धुम्मता आउँछ। आवाज बिस्तारै भारी हुन्छ। तर एउटा कुरा कहिल्यै बदलिँदैन, उनको सोध , “तिमी राम्रो छौ?” त्यो सोधमा शरीरको थकाइ हुँदैन, त्यो सोधमा माया मात्र हुन्छ।

यही प्रश्न जीवनको ठूलो दर्शन हो। मानिस जीवनभर के खोज्छ? शक्ति? सम्पत्ति? सन्तोष? तर बुबा देखाउँछन् यदि खोज्ने कुरा अरूको खुशी हो भने, आफ्नै खुशी स्वाभाविक रूपमा आउँछ। उनी आफ्ना पीडा, आफ्ना सपना, आफ्ना चाहनालाई पछाडि राखेर सधैं हाम्रो सुख खोज्छन्। यही हो अस्तित्वको सौन्दर्य जसले अरूका लागि बाँच्छ, ऊ नै अमर हुन्छ।

त्याग भनेको के हो भनेर बुझ्न हो भने, बुबालाई हेर्नुपर्छ। त्याग प्रायः ठूलो कुरा भनेर बुझाइन्छ।विशाल दान, ठूला कार्य। तर बुबाले देखाउने त्याग सानो कुरामा हुन्छ। त्यो भातको सानो हिस्सा जसलाई उनले छोडिदिए, त्यो पुरानो कपडा जुन उनी फेरिन सकेनन्, त्यो पसिनाको थोपा जसलाई हामीले कहिल्यै गन्नेनौ। त्याग भनेको आफूसँग भएको कुरा मात्र दिनु होइन, आफूलाई नै अरूमा विलिन गर्नु हो।बुबा आफ्ना सपना बेचेर हाम्रो सपना किनिदिन्छन्, आफ्ना अधिकार बिर्सेर हाम्रो खुसी लेखिदिन्छन्।

समयको अन्तिम खण्डमा उनी मौन हुँदै जान्छन्। कुर्सीमा बस्छन्, नजर गहिरो हुन्छ। शब्द कम हुन्छन्, दृष्टि बढी कुरा गर्छ। ती आँखामा प्रश्न हुन्छ “तिमी सुखी छौ?” त्यो प्रश्न साधारण लाग्छ, तर त्यही प्रश्नमा संसार छ। त्यो प्रश्नमा कुनै स्वार्थ छैन, केवल माया मात्र। के यो प्रश्नले देखाउँछ जीवनमा हाम्रो अस्तित्वको मूल्य अरूका आँखाबाट मापन हुन्छ, र त्यो आँखामा बुबाको नजरजस्तो निष्कलंक दृष्टि हुँदैन।

जब बुबा हुँदैनन्, तब बुझिन्छ, त्यो हातले बनाएको घर, त्यो पसिनाले भिजेको जमीन, त्यो मौन आवाज नै हाम्रो सम्पत्ति थियो। त्यो खाली कुर्सी, त्यो सुनसान आँगन, त्यो चुपचाप छोडिएको टोपी सबै कुरा बोल्छन्। ती सबै कुरा भन्छन् शरीर क्षणिक हो, तर त्याग र दर्शन अमर हुन्छन्।

बुबा भनेको केवल एक व्यक्ति होइनन्। उनी एक विचार हुन्, एक शिक्षा हुन्। उनीहरूले हामीलाई सिकाएका पाठहरू किताबमा पाइँदैनन्, ती जीवनका प्रत्येक क्षणमा पाइन्छन्। उनीहरूले सिकाउँछन् ,जीवन पाउनु मात्र होइन, दिनु हो। महानता देखिनु होइन, महसुस हुनु हो। जब संसारले हाँसो र आँसु दुवै थमाउँछ, हामीलाई थाम्ने ती मौन हातहरू सम्झिन्छौं। त्यही हातहरू, जसले कहिल्यै मागेनन्, तर सबै दिए। शरीर मर्छ, तर बुबाको दर्शन कहिल्यै मर्दैन।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha