मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

इजरायलमा बन्धक नेपाली विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारको पहल जारी

इजरायलमा बन्धक नेपाली विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारको पहल जारी

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • सोमवार, भदौ २, २०८२

  • 190
    Views
इजरायलमा बन्धक नेपाली विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारको पहल जारी

काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले उच्च प्राथमिकताका साथ पहल जारी राखेको जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति महामहिम H.E. Mr. Isaac Herzog तथा संसद अध्यक्ष H.E. Mr. Amir Ohana सँग भेट गरी विपिनको तत्काल रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्।

यसअघि पनि नेपाल सरकारको तर्फबाट मध्यपूर्वको शान्तिका लागि भइरहेको पहल अन्तर्गत टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते भएको दूरभाष संवादमा विपिनको विषयमा ध्यानाकर्षण गराइएको मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले विपिनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध सबै कूटनीतिक माध्यममार्फत पहललाई निरन्तरता दिइरहेको मन्त्रालयले स्पष्ट पारेको छ। यसै क्रममा खाडी क्षेत्रका नेपाली दूतावासमार्फत समेत आवश्यक समन्वय भइरहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले विपिन जोशीको शीघ्र रिहाइ सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै इजरायलमा सहयोग पुर्‍याइरहेका नेपाली समुदाय, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति विशेष धन्यवाद प्रकट गरेको छ।

मन्त्रालयका अनुसार विपिन जोशीका परिवारलाई सरकार पूर्ण रूपमा साथमा रहेको छ र आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइनेछ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha