सोमवार, फाल्गुन ५, २०८१ | February 17, 2025

गैरआवासीय नेपाली तारा–२०२३ ले पायो “आईडल” गायनतर्फको उपाधि रुस्तम तामांग र नृत्यतर्फको उपाधि निरु श्रेष्ठ लाई

गैरआवासीय नेपाली तारा–२०२३ ले पायो “आईडल” गायनतर्फको उपाधि रुस्तम तामांग र नृत्यतर्फको उपाधि निरु श्रेष्ठ लाई

  • Naveen Sanchar

  • सोमवार, माघ २२, २०८०

  • 247
    Views
गैरआवासीय नेपाली तारा–२०२३ ले पायो “आईडल” गायनतर्फको उपाधि रुस्तम तामांग र नृत्यतर्फको उपाधि निरु श्रेष्ठ लाई

रोशन अर्याल नवीनसञ्चार दोहा, कतार

गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४’को गायन विधातर्फ रुस्तम तामाङ र नृत्य विधातर्फ निरु श्रेष्ठले उपाधि जितेका छन् । शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा सम्पन्न ग्राण्ड फिनालेमा गायनबाट उपविजेता सुजन गुरुङ र नृत्य विधातर्फ सरोज लामा उपविजेता बन्दा उनीहरूले ताराको उपाधि हात परेका हुन् । “नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ” भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारले संयुक्त आयोजनामा शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दे तामाङले उपाधी जित्न सफल भएका हुन ।

गायन र नृत्य दुवै विधामा ५–५ जना प्रतियोगि फाइनल चरण पुगेका थिए । गैरआवासीय नेपाली तारा–२०२३ (चौथो संस्करण)को तालिका अनुसार गायन विधा बाट विजेता तामाङलाई गैरआवासीय नेपाली ताराको उपाधी प्रदान गरिएको हो । विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे भने उपविजेताले जनही ७५ हजार रुपैयाँ प्राप्त गरे ।
१ डिसेम्बर २०२३ शुक्रबार पहिलो अडिसन लिँदै शुरु भएको प्रतियोगितामा कूल ४७ जना सहभागी भएका थिए भने ग्राण्ड फिनालेमा नृत्य विधामा जुनमाया कुमाल, सरोज लामा, निरु श्रेष्ठ, झरना राई र सौजन चाहारले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । गायन विधामा दीपक कुमार घले, इसान रेग्मी, सुजन गुरुङ, मानसिंह परियार र रुस्तम तामाङले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

सुनखानी ५ सिन्धुपाल्चोकमा जन्मिएका रुस्तम एक दशकदेखि कतारमा कार्यरत छन् । नागार्जुन १ काठमाडौंमा बसोबास गर्दै आएका उनी संगीतमा सानै उमेर बाट लगाव रहेको बताएका छन् । इलामको बिब्लाटे डाँडा गाउँमा जन्मिएकी निरु श्रेष्ठ विगत चार सालदेखि कतारमा कार्यरत छिन् । बच्चा हुँदादेखि नै नृत्यमा सौखिन उनले थुप्रै स्टेजमा आफ्नो कला प्रस्तुत गरे पनि प्रतिस्पर्धामा भने पहिलो पटक भाग लिएर पहिलो पटक नै उपाधि जितेकी हुन् ।
गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा– २०२३ कतार सिजन ४’को ग्राण्ड फिनाले संघका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विधिवतरूपमा अगाडि बढेको कार्यक्रममा तमु समाजकी अध्यक्ष टौमाया गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने स्वागत नृत्य र स्वागत गीतद्वारा उपस्थितलाई स्वागत गरिएको थियो । नेपालबाट प्रमुख निर्णायकका रूपमा कतार आएका अतिथि निर्णायक संगितका चर्चित गायक रामकृष्ण ढकालले आफ्ना आधा दर्जन भन्दा बढी सुमधुर गीतमार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरे भने अर्की प्रमुख निर्णायक मोडल तथा कोरियोग्राफर पुर्णिामा श्रेष्ठले पनि आकर्षक नृत्य प्रस्तुति गरिन् ।

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ढकालले यो प्रतियोगिता एक नमुना मात्र नभइ पृथक कार्यक्रम बनेको बताउँदै कार्यक्रमका लागि हल व्यवस्थापन गरिदिने कतार च्यारिटीलाई कृतज्ञता प्रकट गरे । सो अवसरमा बोल्दै राजदुत ढकालले प्रवासमा काम सँगै नेपालको कला र संस्कृति जगेर्ना गरिरहेका कलाकारको सम्मान र हौसालको लागि अयोजना गरिएको कार्यक्रमको लागि आयोजकलाई आभार व्यक्त गर्नुभएको थियो । एनआरएनए आईसीसीसहित कतारमा स्थापित विभिन्न सामाजिक, सामुदायिक वैचारिक संगठनका अध्यक्ष तथा विभिन्न ओहोदाका व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो भने उनीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कमलमणि गुरागाईं, क्रान्ति सिंह, करिम बक्स मियाँ र बुधबल गुरुङ परीवेक्षक रहेको कार्यक्रममा आइडलका गायन विधाका निर्णायक मङ्गल बिक र वीरेन्द्र श्रेष्ठले समेत सांगीतिक प्रस्तुति दिए । नृत्य विधाका निर्णायक भविन तामाङ, भीम प्रसाद गुरुङ र जनक थापा मगरसहित टौमाया गुरुङ, शिला गुरुङ र सोनी आले मगरले सामूहिक नृत्य पेस गरे । नेपाल मगर संघ शाखा कतार, नेपाल प्रवासी तामाङ समाज र तमु (गुरुङ) समाज कतारका कलाकारहरूले सामूहिक नृत्य पेस गरेका थिए भने गोबिन गुरुङले प्रस्तुति दिएका थिए ।

कार्यक्रमका सभापति र प्रमुख अतिथिलाई फेटाद्वारा सम्मान गरिएको थियो भने ग्राण्ड फिनालेमा पुग्न सफल दश प्रतियोगी, अतिथि निर्णायकसहित वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मङ्गल विक, भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरलाई पनि मायाको चिनोसहित सम्मान गरिएको थियो । चार चरणमा सम्पन्न आइडलका अतिथि राज रेग्मी,  प्रभात त्रिपाठी, ग्राण्ड फिनालेका अतिथि निर्णायकद्वय एनआरएनए आईसीसीका उप– महासचिव प्रवीण गुरुङ र नरेन्द्र बहादुर भाटलाई समेत सम्मान गरिएको थियो । बाकी रहेका स्पोन्सर तथा  सहयोगीहरु लाई समयको अभाबका कारण अर्को सम्मानको कार्यक्रम आयोजन गरि प्रदान गर्ने आयोजक ले बताए।  संघका महासचिव रबिन मगरले औपचारिक र भानु शर्माले सांगीतिक कार्यक्रमलाई सहजीकरण गरेका थिए । कार्यक्रम समापन गर्दै सभापति भट्टले प्रतियोगिताका सबै सहयोगी सहभागी हरु लाई धन्यवाद दिदै विजयीहरूलाई शुभकामना दिएका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha