
नवीन प्रभात
क्यानडा। क्यानडाको मेनिटोबा राज्यको विन्निपेग शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा अन्तराष्ट्रिय टोपी तथा सांस्कृतिक पोसाक दिवस सम्पन्न भएको छ । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र तथा नेपाली सांस्कृतिक समाज मेनिटोबाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । स्थानीय पण्डित गङ्गाराम काफ्लेद्वारा मन्त्रोच्चारण गरी सुरु गरिएको कार्यक्रममा गीत, नृत्य, तथा विभिन्न शीर्षकमा कविता वाचन गरिएका थिए । कार्यक्रममा बोल्दै केन्द्रका पूर्व संयोजक डा. पुरुषोत्तम राज सिंहले विन्निपेगमा टोपी टोपी दिवस कहिले देखि सुरु गरिएको थियो भन्ने जिज्ञासा माथि आफ्नो भनाइ राख्नु भएको थियो । उहाँले थप्दै विन्निपेगमा मात्र अन्तराष्ट्रिय टोपी दिवस, यो सहित ४ पटक मनाइ सकिएको भए पनि क्यानेडामा निक्कै अघि देखि मनाउन सुरु गरिएको जानकारी गराउनु भयो । उहाँले विगत र वर्तमानमा नेपाली कक्षलाई सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दै नेपाली कक्षको प्रगतिको कामना गर्नु भयो । यसै गरी कार्यक्रममा बोल्दै अर्का वक्ता तथा केन्द्रका वर्तमान संयोजक डा. सुरेश रेग्मीले नयाँ वर्षको सबैलाई शुभकामना दिँदै नेपाली कक्षलाई थप प्रभावकारी ढंगबाट अघि बढाउन सबै अभिभावकहरूको सहयोगको अपेक्षा राख्दै केही नयाँ कार्य योजनाहरू तय गरिएको जानकारी गराउनु भयो । उहाँले विश्व विद्यालयका विद्यार्थीहरूबाट पनि सहयोग मिल्ने आसा व्यक्त गर्नु भयो । कार्यक्रम थप मन्तव्य राख्दै डा सुरेश रेग्मीले नेपाली कक्षका पुराना विद्यार्थी र नयाँ विद्यार्थीहरू बीच भेटघाटको वातावरण बनाउन सके, पुराना विद्यार्थीहरूका अनुभवबाट नयाँहरुले पाठ सिक्न सक्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले नेपाली कक्ष संचालन निम्ति निरन्तर खटिरहनु हुने डा ज्ञानेन्द्र पोखरेल सुवास नेपाल, विशाल ढकाल नृत्य प्रशिक्षक शारदा उपाध्याय लगायत सम्पूर्णलाई धन्यवाद दिनु भयो । अन्त्यमा सांस्कृतिक समाजकी अध्यक्ष सुनिता ढकालले सबैलाई नयाँ वर्षको शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनु भयो ।