
नवीनसञ्चार सम्वाददाता
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ ।समग्र अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा सिबिफिनका अध्यक्ष गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गभर्नर अधिकारीसँग भेट गरेको हो ।भेटका अवसरमा राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भएतापनि आर्थिक क्रियाकलाप अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका संभावित उपायका विषयमा छलफल भएकोे थियो ।
छलफलका दौरानमा सिबिफिनका अध्यक्ष गोल्यानले राष्ट्र बैंकमार्फत हालै जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनीय सुधार भएको देखाएतापनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फिति जस्ता क्षेत्रमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरज्यूको ध्यानाकर्षण गराउनुभयो । वर्तमान विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापले गतिशिलता प्राप्त गर्ने विषयमा जोड दिँदै अध्यक्ष गोल्यानले बाफियाको व्यवस्था बमोजिम संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो संचालन खर्च र साँघुरिदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेश गर्नुभयो । त्यसैगरी अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेश समिट आयोजना हुन लागेको र उक्त समिटमा राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरु’ नामक पुस्तक गभर्नरलाई हस्तान्तरण गर्नुभयो । विगतमा छिमेकी राष्ट्रको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेश गरेका सुझावको औचित्य, आवश्यकता र महत्वलाई हृदयगंम गरी सो अनुसारको नीतिगत व्यवस्थाका लागि गभर्नरसमक्ष विशेष आग्रह गर्नुभयो ।
त्यसैक्रममा गभर्नर महाप्रसाद अधिकारीले बाह्य परिसूचकमा सन्तोषजनक सुधार देखिदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किदै गरेको विषयमा चर्चा गर्दै, आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्ककनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपाय अपनाउँदै जाने बताउनुभयो । राष्ट्र बैंकप्रति सबैं क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख गर्दै, गभर्नर अधिकारीले तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशिल बनाउने कार्यमा सबै सरोकारवाला पक्ष उत्तिकै गम्भीर र जिम्मवार हुन आवश्यक रहेको औल्याउनु भयो ।
गभर्नरको कार्यकक्षमा सम्पन्न उक्त छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुश प्रसाद मल्ली, कार्यसमिति सदस्य उपेन्द्र प्रसाद पौडेल, लिला प्रकाश सिटौला मोतीलाल दुगड, दिनेशराज जोशी लगायतको सहभागिता रहेको थियो सिबिफिन सचिवालयले जनाएको छ ।