बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ बजारमा

गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ बजारमा

  • Naveen Sanchar

  • आइतवार, अशोज ७, २०८०

  • 194
    Views
गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ बजारमा

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ ।
बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको रु.१,६०० र २५ ग्राम सिक्काको रु.४,००० मूल्य निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ । दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो । सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना मेशिनहरू मर्मत सम्भार गरी महाशाखाले मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha