
काठमाडौँ । संयुक्त अरब इमिरेट्सस्थित नुवाकोट सेवा समाजले गैरआवासीय नेपाली संघ(एनआरएनए)एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक समारोहबीच सम्मान गरेको छ।
समारोहलाई सम्बोधन गर्दै एनआर एनए एनसिसी युएईका सचिव सुमन भण्डारीले आफ्नो गृह संस्थाको यो सम्मान र आत्मीयताको ऋणी भएको बताउनुभयो । आफ्नो कामले उक्त ऋण तिर्ने प्रतिबद्धता जनाउँदै भण्डारीले निर्वाचित हुन सहयोग गर्नुहुने सम्पूर्ण सदस्य साथीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसैगरी सम्मानित हुने शान्ति कुमारी भण्डारीले संस्थाले हालसम्म गरेको कामप्रति खुसी तथा गर्व महसुस गरेको प्रतिक्रिया दिँदै आगामी दिनमा समेत यस्तै कार्य गरी समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभएको थियो ।
समारोहमा नुवाकोट सेवा समाज संस्थाका अध्यक्ष नवीन आर कार्की निरवले अरु संस्थाभन्दा फरक किसिमले डिजिटल माध्यमबाट संस्थाले सम्पन्न गतिविधिको अभिलेख राख्ने गरेको जानकारी दिनुभयो । युएईमा कार्यरत नुवाकोटे दाजुभाई दिदीबहिनीलाई कुनै समस्या परेमा सहयोग गर्ने तथा नुवाकोट जिल्लास्थित पर्यटकीय क्षेत्र, कला संस्कृति, परम्परा, राष्ट्रिय निकुञ्ज, मठ मन्दिरको संरक्षणमा सहकार्य गर्ने प्रतिबद्धता समेत अध्यक्ष कार्कीले जनाउनुभयो ।संस्थाका कानुनी सल्लाहकार प्रल्हाद पाठकका अनुसार सेवा समाजले भिजिट भिसामा आएर अलपत्र परेका धेरै नेपालीको उद्धार गर्दै आएको छ ।