बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

एनआरएनए २१ औँ वर्षमा, एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै

एनआरएनए २१ औँ वर्षमा, एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै

  • Naveen Sanchar

  • बिहिबार, साउन २५, २०८०

  • 313
    Views
एनआरएनए २१ औँ वर्षमा, एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै

नवीनसञ्चार सम्वाददाता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)को एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर –२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गरिने भएको छ । सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने जनाइएको छ । महाधिवेशनमार्फत यस वर्ष संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ । सम्मेलनको तयारीको लागि जुलाइ १ देखि ३१ का बीचमा विश्वका ५९ भन्दा राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु सम्पन्न भएको एनआरएनएले जनाएको छ । निर्वाचित सबै राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा समस्त कार्यसमितिप्रति संघले बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेको छ । संघले स्मार्ट एनआरएनए एप मार्फत अगष्ट १० देखि २० तारिखसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न सम्पूर्ण पन्जीकृत सदस्यलाई आह्वान गरेको छ । प्रतिनिधिको अन्तिम नामावली अगष्ट ३१ मा प्रकाशन गरिने जनाएको छ । सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिको अन्तिम नामावली पठाउन संघले आग्रह गरेको छ । सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि,एनआरएनका अभियन्ता र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करीब ४ हजार भन्दा बढीको सहभागिता संघले जानकारी दिएको छ । विश्व सम्मेलन तथा महाधिवेशनमा सम्पूर्ण गैरआवासीय नेपालीलाई उत्साहपूर्ण सहभागिताको लागि एनआरएनले अनुरोध गरेको छ ।

एनआरएनए स्थापनाको २० वर्ष पूरा


यसैबीच ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापित एनआरएनएले स्थापनाको २० वर्ष पूरा गरेको छ । दुई दशकको यस अवधि पार गर्दा नेपालीको उपस्थिति भएका ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न सक्नुलाई संघले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ । विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीलाई संघको सञ्जालमा गोलबन्द गर्दै एकैसूत्रमा समाहित गरी उत्साहका साथ हातेमालो गर्दै सबै हात एकै साथ भन्ने मूल भावका साथ नेपालको समृद्धिको यात्रामा जोडिएको एनआरएनएमा विश्वभरबाट ९६ हजार ८ सय ५० पन्जिकृत सदस्य आबद्ध भएका छन् ।
विदेशमा रहेका पहिलो पुस्ता मात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीमा समेत मातृभूमिप्रतिको अपनत्व महसुस हुनु, विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नु लगायतले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना बिस्तारै साकार हुने दिशामा अगाडि बढेको एनआरएनएको धारणा छ । दुई दशकको यस गौरवमय यात्राका जोडिएका अप्ठ्याराहरु क्रमशः मत्थर भएका भन्दै संघले १० औँ महाधिवेशनको क्रममा देखिएका असन्तुष्टि समेत सम्बोधन भैसकेको जनाएको छ । स्थापनाकालदेखि संघले नेपाल सरकारसँग उठाउँदै आएको नेपाली नागरिकताको निरन्तरताको विषय केही हदसम्म सम्बोधन भई गैरआवासीय नेपाली नागरिकको लागि सरकारले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरी निर्देशिका र कार्यविधि निर्माणको चरणमा छ । वैदेशिक रोजगारी र विदेशमा स्वरोजगारमा रहेका नेपालीको लागि सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सुरु गरिसकेको छ । नेपालमा लगानी भित्र्याउन विद्यमान कानूनी व्यवधान सम्बोधनको क्रममा छन् । सरकारले गैरआवासीय नेपालीलाई पनि देश निर्माणको सहयात्रीको रुपमा अघि सारेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha