
नवीनसञ्चार संवादादाता, काठमाडौँ ।
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको सेवाकालीन आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले विभिन्न प्रकारका सापटी सुविधा उपलब्ध गराउँदै आएको छ । सरल र सहज रुपमा उपलब्ध हुने सापटी सुविधाहरुबाट कोषको संकलित स्रोतलाई सञ्चयकर्ताको हितमा परिचालन गर्न समेत मद्दत पुगेको छ । यस्ता सापटी सुविधाहरु सञ्चयकर्ता घर निर्माण तथा मर्मत, आफू वा छोरा/छोरीको उच्च शिक्षामा लगानी गर्ने लगायत अन्य सामाजिक कार्यमा समेत प्रभावकारी भएको सञ्चयकर्ताले बताएका छन् । कोषले उपलब्ध गराउँदै आएका विभिन्न प्रकारका सापटी देहाय बमोजिम रहेका छन् ।
सञ्चयकर्ता घर सापटी
-१ वर्ष नियमित कोष कट्टी गरेका सञ्चयकर्ता यो सापटीका लागि योग्य हुने ।
-कोषले तोकेको स्थानमा नयाँ घर निर्माण गर्न, तला थप गर्न र घर खरिद गर्न समेत पाइने ।
-कर्जा अवधि बढीमा २० वर्षसम्म
-धितो मूल्याङ्कनमा नबढ्ने गरी अधिकतम १ करोडसम्म प्राप्त गर्न सकिने
-अवकाश हुन २ वर्षदेखि ५ वर्षसम्म सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा ८ वर्षको तलबमान बराबरको रकम, ५ वर्षदेखि १० वर्षसम्म सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १२ वर्षको तलबमान बराबरको रकम र १० वर्षभन्दा बढी सेवा अवधि बाँकी भएका सञ्चयकर्ताको हकमा १५ वर्षको तलबमान बराबरको रकम प्रवाह गरिने ।
-घर निर्माणको लागि बढीमा ४ किस्ता र घर खरिदको हकमा एकमुष्ठ प्रदान गरिने ।
-कम्तीमा २ वर्ष सेवा अवधि बाँकी भएको हुनुपर्ने ।
सञ्चयतकर्ता शैक्षिक सापटी
-१ वर्ष नियमित कोष कट्टी गरेका सञ्चयकर्ता यो सापटीका लागि योग्य हुने ।
-सञ्चयकर्ता वा निजको श्रीमान् /श्रीमती, छोरा, छोरीले उच्च शिक्षा अध्ययन गर्नको लागि प्रदान गरिने ।
-स्वदेशमा अध्ययन गर्न १० लाख र विदेशमा अध्ययन गर्न २० लाखसम्म ।
-एमबीबीएस र एमडी अध्ययन गर्न २५ लाखसम्म ।
-कर्जा अवधि बढीमा १५ वर्षसम्म ।
-कम्तीमा २ वर्ष सेवाअवधि बाँकी भएको हुनुपर्ने ।
घर मर्मत सापटी
-१ वर्षसम्म नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्तालाई घर मर्मतको लागि प्रदान गरिने ।
-धितो मूल्याङ्कनमा नबढ्ने गरी ५ वर्षको तलबमान वा रु.२५ लाखमा जुन कम हुन्छ सो रकम । घर सापटी लिएकाको हकमा २.५ वर्षको -तलबमान वा रु. १२ लाख ५० हजारसम्म ।
-कर्जा अवधि अधिकतम १० वर्षसम्म हुने ।
-कम्तीमा २ वर्ष सेवा अवधि बाँकी भएको हुनुपर्ने ।
सरल चक्रकर्जा
-१ वर्षसम्म नियमित सञ्चय कोष कट्टी गरेका सञ्चयकर्ता यो सापटीका लागि योग्य हुने ।
-सञ्चयकर्ताको शिक्षा, स्वास्थ्य, आवास, सामाजिक कार्य लगायतका भैपरी आवश्यकता पूरा गर्ने उद्देश्यका लागि यो कर्जा कार्यक्रम रहेको ।
-घर जग्गा धितोका आधारमा प्रदान गरिने ।
-धितो मूल्याङ्कनमा नबढ्ने गरी सापटीको अधिकतम सीमा ३० लाख रुपैयाँ र न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेको ।
-सापटी चुक्ता गर्ने अवधि अधिकतम ५ वर्षको हुने ।
-हाललाई उपत्यकाभित्र घरसापटी लागू भएका क्षेत्रमा मात्र उपलब्ध हुने ।
-कम्तीमा २ वर्ष सेवा अवधि बाँकी भएको हुनुपर्ने ।
जग्गा खरिद सापटीे
-कोषले सञ्चयकर्तालाई जग्गन किन्नका लागि जग्गा खरिद सापटी दिने ।
-सापटीका लागि कोषमा एक वर्ष वा सोभन्दा बढी समय नियमित सञ्चय कोष कट्टी गरेका सञ्चयकर्ता हुनुपर्ने ।
-उमेर वा पदावधिको आधारमा दुई वर्ष सेवाअवधि बाँकी भएका सञ्चयकर्तालाई जग्गा किन्न यो सापटी प्रदान गरिने ।
-यो सापटीको अधिकतम सीमा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको शुरु तलबमान र सेवा अवधिका आधारमा दश वर्षको तलब वा अधिकतम १ करोड रुपैयाँसम्म हुने ।
पहिले घर सापटी, घरमर्मत सापटी र सरलचक्रकर्जा लिएका सञ्चयकर्ताले त्यस किसिमका सापटी चुक्ता नगरेसम्म जग्गा खरिद सापटी सुविधा नपाउने ।
-शैक्षिक सापटी लिएका सञ्चयकर्ताले कर्जा नियमित गरेको अवस्थामा भने यो सापटी पाउन सक्ने ।
सञ्चयकर्ताले लिएको जग्गा खरिद सापटी चुक्ता गरेमा पुनः दुईपटक यो सापटी दिन सकिने ।यो सापटी पाउन न्यूनतम चार मिटरको बाटो भएको जग्गा हुनुपर्ने ।
-जग्गाको क्षेत्रफल काठमाडौँ उपत्यकामा कम्तीमा तीन आना र उपत्यकाबाहिर कम्तीमा आठ धुर वा पाँच आना हुनुपर्ने ।
जग्गा खरिद कर्जाका लागि पेश गरिने जग्गाको साँध–सीमाना छुट्टिने गरी जमिनबाट कम्तीमा एक फिट उचाइ र कम्तीमा नौ इञ्च मोटाइको -पक्की पर्खालले सीमाङ्कन भएको हुनुपर्ने ।
विशेष सापटी
-सञ्चय कोष रकमको सुरक्षणमा ८० प्रतिशतसम्म रकम सापटीको रुपमा उपयोग गर्न सकिने ।
-२ वर्ष नियमित कोष कट्टी गरेका सञ्चयकर्ता यो सापटीका लागि योग्य हुने ।
-प्रत्येक एक वर्षमा पुनः सापटी लिन सकिने ।
-अनलाइनमार्फत् पनि सापटी माग गर्न सकिने ।
-अनलाइन विशेष सापटी
-सञ्चयकर्ताले कोषकट्टी रकमको ८० प्रतिशतसम्म विशेष सापटी प्राप्त गर्न सक्ने ।
-आफ्नो कार्यालयको अफिस केवाइसी तथा आफ्नो व्यक्तिगत केवाइसी विवरण अनिवार्य रुपमा अद्यावधिक रहेको हुनुपर्ने ।
-कोषको वेबसाइटमा गएर लगइन गरी इन्डिभिजुअल लगइनबाट आवेदन दिन सकिने ।
-न्यूनतम २० हजार वा सोभन्दा माथि सापटी लिन सकिने ।