
– माधव अधिकारी
‘समाजशास्त्रीय अनुसन्धान’ विषयको त्यो मेरो पहिलो कक्षा थियो । अत्यन्तै हँसिलो अनुहार भएकी एकजना म्याडम प्रवेश गर्नुभयो । उहाँको बोली पहिलोपटक सुन्दा नै मैले प्रेम र करुणाको सम्मिश्रण महसुस गरेको थिएँ । विद्यार्थीलाई प्रेमपूर्वक पढाउने, कहिल्यै नझर्किने र सोधेका जस्तोसुकै प्रश्नको अत्यन्त सहजतापूर्वक जवाफ दिने बानेश्वर बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयकी प्राध्यापक कल्पना अधिकारीको स्वभाव नै रहेछ ।
समाजशास्त्रमा गुणात्मक र परिमाणात्मक अनुसन्धानका सम्बन्धमा उहाँले गहन व्याख्या एवं विवेचना गरिरहनुभएको थियो । अनुसन्धान जस्तो गम्भीर विषयलाई उहाँले अत्यन्त सरल रुपमा प्रस्तुत गर्नुभएको थियो । मैले उहाँको मुहारबाट आएका र गएका भाव नियालिरहेको थिएँ ।उहाँ एक प्रिय व्यक्ति हुनुहुन्थ्यो । अति कोमल र माधुर्यपूर्ण । वयस्क अवस्थामा पनि उहाँको अनुहारमा एक ताजगी झल्किरहेको थियो । बाल्यकालदेखि नै शिक्षकसँग प्रश्न सोध्ने र अन्तरक्रिया गर्ने मेरो बानी थियो । सायद पहिलो दिन भएर होला, प्रश्न सोध्न असहज लागिरहेको थियो । तर आश्चर्य, अन्त्यमा उहाँले नै मलाई गुणात्मक र परिमाणात्मक अनुुसन्धानका सम्बन्धमा व्याख्या गर्न भन्नुभयो । त्यतिबेलासम्म मैलै धेरै दार्शनिकका पुस्तक पढिसकेको थिएँ । मेरो जीवनको महत्वपूर्ण लामो समय विद्यालय तहमा शिक्षण कार्यमा व्यतीत भएको थियो । विगतको अनुभव, अध्ययन एवं दर्शनशास्त्रीय दृष्टिकोणका आधारमा मैले करिब आधा घण्टा त्यस विषयको विभिन्न उदाहरणसहित धाराप्रवाह विवेचना गरेँ । उहाँले मैले भनेका कुरा अत्यन्त ध्यानपूर्वक सुन्नुभयो र अन्त्यमा सकारात्मक प्रतिक्रिया दिनुभयो । आश्चर्य लागिरेहको थियो, यति मैत्रीपूर्ण, इमान्दार, कर्तव्यनिष्ठ, लगनशील र परिश्रमी प्राध्यापक पनि वर्तमान युगमा अझै उपलब्ध हुनुहुँदो रहेछ ।
विद्यार्थीलाई गृहकार्य दिने र भोलिपल्ट चेकजाँच गर्ने उहाँको दैनिकी नै रहेछ । विद्यार्थीले पाठ्यपुस्तक ल्याए नल्याएको निरीक्षण गरेर हरेक दिन किताब किन्न सुझाव दिनुहुँदो रहेछ । कुनैपनि विद्यार्थीले कुनैपनि समयमा कुनैपनि माध्यमबाट सम्पर्क गरेमा सहज र सरल ढङ्गले प्रत्युत्तर दिनुहुँदो रहेछ । भाइबरमा विद्यार्थीको ग्रुप बनाएर नोट्स, सन्दर्भ सामग्री र अभ्यासका निम्ति प्रश्न समेत उपलब्ध गराउनुहुने रहेछ । त्यसपछिका धेरै कक्षामा मलाई उहाँले विभिन्न विषयमा आफ्नै सहपाठीलाई पढाउने अवसर प्रदान गर्नुभयो । मैले त्यहाँ भनेका हरेक शब्द मेरो स्मृतिमा गाढा रुपले अंकित भएका छन् । उहाँको सम्पर्कमा आएपछि मैले आफ्नो व्यक्तित्व, पेशागत र व्यक्तिगत जीवनमा रुपान्तरण भएको महसुस गरेको छु । उहाँले मलाई शब्द, प्रेम र करुणाका माध्यमबाट ऊर्जा एवं मार्गदर्शन प्रदान गर्नुभएको छ । विषयवस्तुको गहिराइसम्म पुगेर अवधारणा स्पष्ट पार्ने उहाँसँग विद्यार्थीले आत्मीयताको अनुभूति गर्दछन् । उहाँका अन्य विद्यार्थीले समेत यस प्रकारको भावना व्यक्त गर्ने गरेका छन् ।
प्राध्यापक अधिकारीको ऊर्जा करुणामा रुपान्तरित हुने गरेको मैले पहिलो भेटमा नै अनुभूति गरेको थिएँ । उहाँप्रति मेरो हृदयमा अत्यन्त आदर र प्रेमको भाव छ, किनकि उहाँले मलाई कहिल्यै विद्यार्थी जस्तो व्यवहार गर्नुभएन । उहाँ एक मृदुभाषी,सरल,सहज ,इमान्दार,प्रतिभाशाली प्राध्यापक हुनुहुन्छ । एउटा कुशल प्राध्यापकमा हुनुपर्ने सबै गुण छन् अधिकारीमा । उहाँको असल व्यवहार र मीठो बोलीवचनबाट विद्यार्थीमात्र होइन अन्य प्राध्यापक र कर्मचारी पनि उत्तिकै प्रभावित हुन्छन् । आफ्ना विद्यार्थीको विकास र प्रगतिका निम्ति उहाँले सार्वजनिक विदाका दिनमा पनि समय दिने गर्नुहुन्छ । प्राध्यपनका क्रममा पेशागत निष्ठा र मर्यादाको राम्रो ख्याल राख्नुहुन्छ । उहाँको महत्वपूर्ण विशेषता एक अभिभावकका रुपमा विद्यार्थीका कुरा सुन्नु हो । आफ्ना अभिभावकलाई समेत भन्न नसकिएका कुरा उहाँलाई व्यक्त गर्न सकिन्छ र उहाँले समाधानको उपाय बताइदिनुहुन्छ । पाठ्यक्रमका विषयमा विद्यार्थीलाई दक्ष बनाउन उहाँ हरपल चिन्तनशील देखिनुहुन्छ ।
प्राध्यापनलाई उहाँले जागिर होइन, राष्ट्र र नागरिकको सेवा गर्ने अवसरका रुपमा लिनुभएको छ । उहाँको बोली जति मीठो छ र व्यवहार पनि त्यत्तिकै राम्रो छ । आफ्नो जिम्मेवारीप्रति उहाँमा समर्पणको भाव छ । जस्तोसुकै परिस्थितिमा पनि प्रसन्न रहनु, नआत्तिनु र स्वविवेकले निर्णय लिनु उहाँका विशेषता हुन् । गोरखाको गाउँको एक साधारण विद्यालयमा प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएकी अधिकारीका अनुसन्धानमूलक लेख विभिन्न जर्नल र पत्रपत्रिकामा प्रकाशित छन् । हाल समाजशास्त्रमा एम. फिल समेत अध्ययनरत उहाँ एक प्रखर तार्किक बौद्धिक क्षमतायुक्त प्राध्यापक हुनुहुन्छ । उहाँको हृदय र मनको अध्ययन गर्दा प्रज्ञा र करुणाको सम्मिश्रण पाइन्छ उहाँमा नेपाली, अंग्रेजी र हिन्दी भाषाको यथेष्ठ ज्ञान छ ।
उच्च शिक्षा हासिल गरी प्राध्यापक जस्तो गरिमामय पदमा पुगेपनि उहाँमा कुनै दम्भ,अहंकारको भाव छैन । शालीन हाउभाउ र भव्य व्यक्तित्वकी धनी अधिकारीको आदर्श ‘सादा जीवन उच्च विचार’हो । उहाँ मेरो जीवनमा सदैव एक आदर्श प्राध्यापकका रुपमा प्रातः स्मरणीय, वन्दनीय र अविस्मरणीय रहनुहुनेछ । गुरुदक्षिणाका रुपमा कुनैदिन उहाँले मलाई लगाउनुभएको गुनको ऋण अवश्य तिर्नेछु ।